२७औं वन्यजन्तु सप्ताह : राप्ती र नारायणी नदी जोगाउन चिन्ता

४ बैशाख, २०७९   |  इकोखबर

भरतपुर । २७औं वन्यजन्तु सप्ताहको अवसरमा भरतपुर महानगरपालिका–१३ को सहयोगमा राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानले शनिबार सचेतना कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सहभागीहरुले राप्ती नदी र नारायणी नदीलाई संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

ढुक्कसँग पानी पिउन सकिने चितवनका दुइ ठूला नदीहरु आज प्रदुषण हुन थालेको भन्दै उनीहरु चिन्तितसमेत भएका छन् । नदीमा ढल र फोहोर नफाल्न आफुहरु अभियानमा जोडिरहने प्रतिवद्दता समेत जनाएका छन्। धनु स्मृति टोल विकास संस्थाका अध्यक्ष हरिकृष्ण सुवेदीले नदी र वन्यजन्तुको चरण भएको स्थानमा फोहोर नगर्न, घरबाट निस्केका फोहोर जथाभाबी नफाल्न अनुरोध गरे ।

बाटुलीपोखरी मध्यवर्ती वन समूहका अध्यक्ष ज्ञानु सुनारले महिलाहरूलाई फोहोरजन्य पदार्थको उचित व्यवस्थापनका लागि फोहोरका वर्गीकरण गर्न र सफाइ अभियानमा सक्रिय हुन अनुरोध गरिन् । माध्यमिक विद्यालय गंगानगरका प्रधानाध्यापक गणेश सुवेदीले पर्यावरण संरक्षणमा विद्यालय स्तरबाट विद्यार्थीहरुलाई र शिक्षकहरूलाई सहभागी गराई परिणाममुखी कार्यक्रम संचालन गर्न आफू तयार भएको बताए।

नेपाल रेडक्रस सोसाइटी उपशाखा पटिहानीका सभापति कृष्णहरी शर्माले वन्यजन्तुबाट घाइते हुनेहरुलाइ रेडक्रसमार्फत निःशुल्क एम्वुलेन्स सेवा प्रदान गरिरहेको बताए। सभापति घिमिरेले राप्ति, नारायणी नदी जोगाउन गरिएको सरसफाइ अभियानले आफूलाई आकर्षण गरेको बताउँदै वन्यजन्तु संरक्षणमा सरसफाइ अत्यन्त महत्वपूर्ण रहेको बताए । पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतोले वन्यजन्तुको हितमा सबै सरोकारवालाहरु एक भएर लाग्न आग्रह गरे ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले वातावरणीय सन्तुलनका लागि जीवनसंग वन्यजन्तु रक्षा गर्नु सबैको दायित्व भएको बताए । कर्मचारी, सेना र समुदाय मिलेर शुन्य चोरी शिकारीको परिणाम सम्भव भएको उल्लेख गर्दै उनले चितवन राष्ट्रिय निकुञ्जको आम्दानीवाट मध्यवर्ती वरपरका वासीन्दाहरुलाइ बेलाबेलामा वन्यजन्तुको आक्रमणबाट हुने क्षतिमा राहात दिने गरिएको बताए।

अभियानका संयोजक एवम् कार्यक्रमका सभापति अपिल घिमिरेले राप्ती र नारायणी नदी जोगाउन थप योजना बनाइ कार्यक्रम गरिने बताए।



Developed by Smart Innovation