वन क्षेत्र व्यापारीलाई जिम्मा लगाउन फूलचोकिलाई संरक्षित क्षेत्र घोषणा गरियो : महासंघ

३ असार, २०७९   |  इकोखबर

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफनल) ले ललितपुर जिल्लाको गोदावरी र फूलचोकी क्षेत्रको वनलाई संरक्षित क्षेत्र घोषणा गरेकोमा सरकारको आलोचना गर्दै खारेजीको माग गरेको छ । सरकारले उक्त क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर समुदायको प्राकृतिक श्रोत माथिको अधिकारलाई बन्देज गरेको महासंघको ठहर छ । 

वन तथा वातावरण मन्त्रालयले ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा पर्ने ललितपुर जिल्लाको कोन्ज्योसोम गाउपालिकाको पुर्वी सिमाना देखी काभ्रेपलाञ्चोक जिल्ला तर्फको ५०.५३ हेक्टर राष्ट्रिय वन क्षेत्र पर्ने गरी सोही जिल्लाको पनौती नगरपालिका वार्ड नं १ र २ अन्तरगत फुलचोकी डाडा देखी भ¥याङ्ग खोल्सी, साल्दुडखोल्सी र पानीघाट खोल्सी हुदै काभ्रेपलाञ्चोक जिल्ला र ललितपुर जिल्लाको सिमाना सम्मको राष्ट्रिय वनको (सामुदायिक वन) भाग ललितपुर जिल्लाको गोदावरी नगरपालिका कार्ड नं ४ र ५ मा पर्ने जयभद्रे सामुदायिक वन देखी पातलेछाप सामुदायिक वन क्षेत्र अन्तरगतको राष्ट्रिय वन र निजि आवादी जग्गाको सिमाना सम्मको राष्ट्रिय वनको क्षेत्रलाई सुचना प्रकाशन गरी गोदावरी फूलचोकी वन संरक्षण क्षेत्र घोषणा गरेको छ । 


संरक्षण क्षेत्र घोषणा गरेर पर्यटनको विकास भई विकासको कायापलट हुन्छ भनी स्थानीय समुदायलाई गलत र झुठ्ठा आश्वासन दिइएको महासंघको भनाई छ । 

यसरी दवावका आधारमा संरक्षण क्षेत्र घोषणा वा विस्तार गरेपछि संरक्षण क्षेत्र सञ्चालनको ठेक्का नीजि तथा सरकारी संस्थालाई दिई स्थानीय समुदाय, आदिवासी जनजाती, महिला र दलितको जीविकोपार्जनका स्रोतमाथिको पहुँच र अधिकारबाट बञ्चित गर्दै निरन्तर रुपमा फौजदारी मुद्दा लगाईदै आएको महासंघका अध्यक्ष भारती पाठकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ  । 


नेपालमा अहिले १२ वटा निकुञ्ज सहित २० वटा संरक्षित क्षेत्र रहेका छन् । स्थानीय समुदायले संरक्षण गर्दै सामुदायिक वनहरु उपभोक्ता समूहबाट खोसेर केन्द्रिकृत सरकारी नियन्त्रणमा ल्याउने गरी घोषणा तथा विस्तार गरिएको महासंघको ठहर छ । 
 
महासंघले विगतमा भएको सहमति र साुमदायिक वनको राष्ट्रिय गोष्ठिको घोषणापत्र विपरित संरक्षति क्षेत्र घोषणा गरिएको आरोप लगाएको छ । 



Developed by Smart Innovation