रौतहटको जंगलमा तस्कर र सशस्त्र वन रक्षकबीच दोहोरो गोली हानाहान भएको छ ।
आइतवार राति वन सशस्त्र वन रक्षकको टोली र तस्करबीच दोहोरो गोली हानाहान भएको हो ।
रौतहटको गुजरा नपा २ स्थित अन्जुमन सामुदायिक वन क्षेत्रभित्र गस्तीमा रहेको वन सुरक्षा टोली र तस्करबीच दोहोरो गोली हानाहान भएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । डिभिजनल वन कार्यालयका अनुसार गस्तीमा रहेको वन सुरक्षा टोलीमाथि गोली प्रहार भएपछि केहीबेर दोहोरो गोली हानाहान भएको थियो ।
सशस्त्र वन रक्षकले घटनास्थलबाट एक थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।
डिभिजनल वन कार्यालय रौतहटका डिभिजन वन अधिकृत विनोद सिंहका अनुसार अन्जुमन सामुदायिक वन क्षेत्रभित्र आइतवार दिउँसो पनि गोली चलेको आवाज स्थानीयले सुनेका थिए । सोही सुचनाका आधारमा गएको सशस्त्र वन रक्षक र तस्करबीच गोली हानाहान भएको हो ।
बन्दाबन्दीको समयमा रौतहट लगायत देशका विभिन्न समयमा काठ तस्करी तथा चोरी शिकारीका घटनामा वृद्धि भएको छ ।