शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज प्रशासनले स्वीकृती नलिइ राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका १०६ जनालाई नियन्त्रणमा लिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुनका अनुसार नियन्त्रणमा लिइएका मध्ये १ सय जनालाई सामान्य कार्वाही गरी छोडिएको छ भने ६ जनालाई हिरासतमा राखिएको छ । हिरासतमा राखिएका ६ जना निकुञ्ज क्षेत्रमा सिकार खेल्न गएको अवस्थामा पक्राउ गरिएको पुनले बताए ।
६ जना शुक्रबार र शनिबार पक्राउ परेका हुन् भने बाँकी एक सय जना पछिल्लो एकहप्तामा पक्राउ परेको संख्या हो ।
बन्दाबन्दीको मौकामा निकुञ्जमा हुनसक्ने चोरि निकासीलाई ध्यान दिएर निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र कर्मचारी सहितको संयुक्त गस्ती बढाइएको प्रमुख संरक्षण अधिकृत पुनले बताए । काठमाडौंको उत्तरी भागमा अवस्थित यस निकुञ्जको सीमाना धादिङ्ग सिन्धुपाल्चोक र नुवाकोटसंग जोडिएको छ ।