कार्य क्षेत्रमा छैनन् डिएफओ, बन्दको मौकामा तस्करलाई मौका

२६ चैत, २०७६   |  

बन्दाबन्दीको मौकामा जिल्लामा बसेर काठ चोरी तस्करी नियन्त्रण गर्न सक्रिय रहनुपर्ने महत्वपूर्ण मानिएका जिल्ला वन प्रमुखहरुले जिल्ला छोडेका छन् । 
विभिन्न निकायसंग समन्वय गरेर चोरी तस्करीका लागि गर्नुपर्ने काममा समन्वय नहुँदा बन्दाबन्दीको समयमा जिल्लामा रहेर काम गरिरहेका अन्य वन कर्मचारीमा अन्योलताको अवस्था छ । सुदूरपश्चिम वन निर्देशनालयका अनुसार डिभिजनल वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत अजयविक्रम मानन्धरले जिल्ला छोडेको १५ दिन भन्दा बढी भइसक्यो । 


कञ्चनपुरमा अहिलेसम्म काठ चोरीका तीनवटा घटना भइसकेका छन् । त्यसैगरी कैलालीका डिभिजन वन अधिकृत रामचन्द्र कंडेल पनि अहिले जिल्लामा छैनन् । डोटीका शम्भु तिवारी र डढेलधुराका विष्णु आचार्य पनि कार्यालयमा उपस्थित छैनन् । सूदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टका अनुसार उनीहरु कसैले पनि विदा स्वीकृत नगराई जिल्ला छोडेका हुन् । 


जिल्ला छोडेका डिभिजन वन अधिकृतहरुलाई जिल्ला फर्कन निर्देशन दिएको विष्टले बताए । “जहाँ जे जस्तो अवस्थामा भएपनि समन्वय गरेर काम गर्न निर्देशन दिएका छौं,” विष्ट भन्छन् “केही सहायक वन अधिकृत पनि हुनुहुन्छ । तर, डिएफओ हुनु र नहुनुमा धेरै फरक पर्दछ । नभए त वन पालेकै भरमा छोडे भैहाल्थ्यो नि । तर, अहिले बन, बन पालेकै भरमा छोडेजस्तो भएको छ ।”

सैगरी वन पैदावारको हिसावले अर्को महत्वपूर्ण प्रदेश नम्वर ५ हो । प्रदेश नम्वर ५ को कपिलवस्तु काठ चोरी तस्करीका हिसावले सवैभन्दा संवेदनशील मानिन्छ । २०६२÷०६३ सालको जनआन्दोलन र त्यसपछिको मधेश आन्दोलनका वेला कपिलवस्तुको पश्चिम गुगौली क्षेत्रमा व्यापक वन फंडानी भएको थियो । तत्कालिन व्यवस्थापिका संसदको प्राकृतिक श्रोत साधन समितिले गरेको अध्ययनका क्रममा समेत कपिलवस्तुमा वन फंडानी भएको भेटिएको थियो । चोरी तस्करीको संभावित वन्दाबन्दीको समयमा  कपिलवस्तुका दुईजना डिभिजनल वन अधिकृत नै अहिले जिल्लमा छैनन् । 


डिभिजनल वन कार्यालय तौलिहवाका प्रमुख इश्वरी पौडेल र सव डिभिजनल वन कार्यालय चन्द्रौटाका दुर्गा कार्कीले पनि विदा स्वीकृत नगराई जिल्ला छोडेका छन् । डिभिजनल वन कार्यालय परासीका प्रमुख अजित कर्ण, प्युठानका राजु क्षेत्री पनि जिल्लामा छैनन् । 


प्रदेश नम्वर ५ का प्रदेश वन निर्देशक इन्द्र प्रछाईका अनुसार कुनै पनि डिभिजनल वन अधिकृतको विदा स्वीकृत छैन । “कसैले पनि विदा स्वीकृत गराएका छैनन्,” प्रछाईले भने “घरमा छौं भन्ने जानकारी प्राप्त भएको छ । लक डाउन भनेको विदा होइन ।” डिएफओलाई फिर्ता हुनलाई निर्देशन दिइएको वन निर्देशक प्रछाईले जानकारी गराए । 


वन पैदावार चोरी तस्करीका हिसावले अर्को सवेदनशील प्रदेश नम्वर २ हो । जिल्ला वन प्रमुखलाई निर्देशन दिएर कार्यसञ्चालन गर्ने प्रदेश नम्वर २ का प्रदेश वन निर्देशक नन्दलाल राय यादव बन्दाबन्दी सुरु भएपछि घरमा बसेका छन् । 
प्रदेश नम्वर २ का जिल्ला वन प्रमुखहरुको कमान अहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम कडेलले सम्हालेका छन् । उनी आफैले जिल्ला डिभिजनल वन अधिकृतलाई निर्देशन दिएर वन क्षेत्रमा गस्ती परिचालन गराएका छन् । सुरक्षा निकायका प्रमुखहरुसंग समन्वय गरी प्रदेशबाट समेत सवारी साधन पठाएर गस्ती बढाएको प्रदेश सचिव कंडेलले बताए । “चोरी तस्करीका हिसावले यो संवदनशील समय हो, प्रदेश वन निर्देशक नभएपनि जिल्ला जिल्लाको रिर्पोटिङ्ग लिएर काम भएको छ,” कडेंल भन्छन् “संवेदनशीलताको समयलाई ध्यानमा राखेर डिभिजनल वन कार्यालयमा थप श्रोत साधन प्रदेश मन्त्रालयबाट पठाइएको छ ।”


त्यसैगरी प्रदेश नम्बर १ अन्र्तगतको डिभिजनल बन कार्यालय सुनसरीका डिभिजन वन अधिकृत रामबाबु साह पनि जिल्लामा छैनन् । मौखिक रुपमा जानकारी गराएर उनी घरमा बसेको प्रदेश वन निर्देशक रविन्द्र महर्जनले बताए । उदयपुरको त्रिवेणी डिभिजनल वन कार्यालयका डिभिजन प्रमुख उपेन्द्र प्रसाद पट्टेलपनि वन्दाबन्दीको समयमा जिल्लामा छैनन् । प्रदेश वन निर्देशक महर्जनले घरमै बसेर विभिन्न निकायसंग समन्वय गरी निर्देशन दिएर काम गरेको बताए । 


बन विभागका पूर्व महानिर्देशक राजन पोखरेल निजामति सेवामा वन क्षेत्र फरक प्रकृतिको भएको हुनाले विषम परिस्थितीमा कर्मचारीले जिल्ला छोड्न निमिल्ने बताउँछन् । “हाम्रो पालामा त हामी दशैं तिहारमा समेत जिल्ला नछोड्नका लागि जिल्ला वन प्रमुखलाई परिपत्र गर्दथ्यौं,” पोखरेल भन्छन् “संघीय वन मन्त्रालय, प्रदेश मन्त्रालयले लक डाउन हुनुअघि नै जिल्ला जिल्लामा कर्मचारीलाई कार्य क्षेत्र नछोड्न परिपत्र गर्नुपर्दथ्यो ।”
पोखरेलका भनाईमा निर्वाचन, महामारी र विभिन्न खालको आन्दोलनको समय चोरी तस्करीका हिसावले बढी संवेदशनिल मानिन्छ ।


निर्वाचनका समयमा समेत निर्वाचन आयोगले वनका कर्मचारीलाई निर्वाचन प्रयोजनमा नखटाउनुको कारण वनको रेखदेखमा ध्यान दिनु भएको पोखरेल बताउँछन् । “सरकारले जटिल परिस्थितीमा अवकास प्राप्त कर्मचारीलाई समेत सेवामा बोलाउन सक्छ, त्यस्तो अवस्थामा अवकास प्राप्त कर्मचारी पनि सेवाका लागि तयार हुनुपर्दछ, अझ बहालबाला कर्मचारी घरमा बस्ने भन्ने कुरा त हुँदैहुँदैन,” उनी भन्छन् । 
बन्दको मौकामा तस्करी 


वन कर्मचारीले जिल्ला छोड्नुको प्रभाव अहिले वन क्षेत्रमा देखिएको छ । सरकारले गरेको बन्दाबन्दीको मौका छोपेर तराईका जिल्लामा काठ तस्करी बढेको छ । तराईका रौतहट, सुनसरी, कञ्चनपुर, कैलाली, पर्सा, बारा र सर्लाही जिल्लामा चोरी तस्करीका घटना बढेका छन् । 


रौतहटको गुजरा नपा २ स्थित अन्जुमन सामुदायिक वन क्षेत्रभित्र गस्तीमा रहेका सशस्त्र वन रक्षक र तस्कर समूहबीच २३ चैतमा गोली हानाहान भयो । गस्तीमा रहेका वन रक्षक र वनमा काठ चोरी तस्करीका लागि आएका तस्करबीच गोली हानाहान भएको हो । त्यसअघि २१ चैतमा मोरङ्गमा शिकारीसंग सशस्त्र प्रहरी र वन रक्षकबीच गोली हानाहान भएको थियो । 

सलकपुर सामुदायिक वनमा सिकारका लागि आएका सिकारी र सशस्त्र प्रहरीबीच भएको गोली हानाहानपछि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरु बन्दाबन्दीको समयमा वन क्षेत्रमा सिकार खेल्न आएका थिए । 
विभिन्न जिल्ला तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा तस्करले वन्यजन्तु तथा काठ तस्करी गर्ने क्रममा सुरक्षाकर्मी र तस्करबीच भएका भीडन्तका घटनाले पनि बन्दको मौकामा तस्करहरु सल्बलाएको पाइन्छ । 


१४ चैतमा पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु तस्करीका लागि गएका तस्कर र निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाबीच दोहोरो गोली हानाहान भयो । उक्त घटनामा हेटौंडा उप महानगरपालिका १३ पदमपोखरीका भीमलाल मोक्तानको मृत्यु भयो भने नेपाली सेनाका मीनबहादुर छन्त्याल घाइते भए । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार १० चैतमा जिल्लाको अमर स्मृती सामुदायिक वनबाट वनेल मार्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय बनबारी राना रहेका छन् । वन क्षेत्रमा गएर वनेल मार्नु गैरकानुनी हो । 

त्यसैगरी जिल्लाकै लालझण्डी गाउँपालिकाको वन क्षेत्रमा काठ लैजाँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको सहायक वन अधिकृत दिनेश यादवले हिमाललाई बताए । यादवका अनुसार पक्राउ पर्नेमा पुर्नबास नगरपालिका निवासी सुरेन्द्र तामाङ्ग र विजय तामाङ्ग रहेका छन् । उनीहरुको साथबाट से ६ प ६३५८ नम्वरको मोटरसाइकल समेत बरामद गरिएको छ ।  


त्यसैगरी डिभिजन वन कार्यालय सर्लाहीले १० चैतमा काठ बोक्न प्रयोग गरिएका दुईवटा ट्याक्टर सहित ११ जनालाई पक्राउ गरेको थियो । डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव देवका अनुसार जिल्लाको लालबन्दी नगरपालिका १४ को वन क्षेत्रबाट चिरान गरिएको ५१३ थान काठ सहित उनीहरुलाई पक्राउ गरिएको हो । स १ प २५५४ नम्वर र नम्बर नखुलेको अर्को ट्याक्टरमा ल्याइदै गरेको उक्त काठ २९३ क्यूफिट रहेको छ । 
डिभिजन वन कार्यालय बाराले पनि १२ चैतमा ३ थान सिसौको गोलिया काठ सहित एक जनालाई पक्राउ गरेको थियो । 

(साभार:https://www.himalkhabar.com/news/113018)

 



Developed by Smart Innovation