पहिलो पटक उच्च स्थानमा पाटे बाघ भेटियोडढेलधुराको २ हजार ५०० मीटर उचाईको महाभारत क्षेत्रमा पहिलो पटक पाटेबाघ भेटिएको छ ।

१ बैशाख, २०७७   |  

ढेलधुराको २ हजार ५०० मीटर उचाईको महाभारत क्षेत्रमा पहिलो पटक पाटेबाघ भेटिएको छ । डिभिजनल वन कार्यालय डढेलधुराका डिभिजन वन अधिकृत विष्णु आचार्यका अनुसार यो उचाईमा बाटेबाघ यसअघि पाटेबाघ भेटिएको रेकर्ड भएको थिएन ।

तराई र उष्णप्रदेशीय हावापानीमा मात्र पाइने पाटे बाघ यो उचाईमा पाइएको नेपालको वन क्षेत्रको इतिहासमा पहिलो पटक भएको आचार्यले बताए । तराइ भू परिधि कार्यक्रम, विश्ववन्य जन्तु कोष नेपालको आर्थिक एवं प्राबिधिक सहयोग र डिभिजन बन कार्यालय डडेल्धुराको संयुक्त आयोजनामा गत मार्च ६ देखि अप्रिल ६ सम्म महाभारत वनक्षेत्रको वन्यजन्तुको अध्ययन गरेर त्यहाँ पाटेबाघको उपस्थितिलाई यकिन गर्ने उद्देश्यले ३२ जोडी क्यामेरा राखिएको थियो । हाल उक्त ३२ जोडी मध्ये १ स्थानमा उक्त पाटेबाघको इमेज ट्रयाप भएको हो ।  “भेटिएको बाघ आगन्तुक हो वा स्थायी हो, यसका लागि अध्ययन गर्नुपर्दछ”, आचार्यले भने, “स्थानीयले बाघ हिंडको बताएका थिए, तर रेकर्ड भएको थिएन । अहिले उच्च स्थानमा पनि पाटे बाघ भेटिएको प्रमाण प्राप्त भयो ।”


डढेलधुरा जिल्ला वन क्षेत्रको हिसावले नेपालकै सवैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो । जिल्लामा करिव १ लाख १५ हजार हेक्टर वन क्षेत्र डढेलधुरामा छन् । विश्वमै दुलर्भ मानिएको पाटेबाघको संख्या नेपालमा २३५ रहेको छ । सन् २०१३ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या १९८ थियो। सन २०१८ को गणना अनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए । 


नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको र हाल त्यसको सङ्ख्या वृद्धि भएको विभागले जनाएको छ। 
पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिवद्धता गरेको थियो। सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा दुई बाघको सङ्ख्या छ।

इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भूटान, भियतनाम, मलेसिया, म्यानमा, रसिया र लाओसमा बाघ पाइन्छ। विश्वभर बाघको सङ्ख्या भने तीन हजार ८९० रहेको छ । क्यामेरामा पाटेबाघको साथै  रेड फक्स, चितुवा, घोरल, लार्ज इन्डिएन् सिभेट, लिओपार्ड क्याट, दुम्सी, मृगका प्रजातिहरू, चराहरु लगाएत सयौ महत्वपूर्ण वन्यजन्तुको तस्वीर  कैद भएका छन् । यसले डडेल्धुरा जिल्लाको महाभारत वन क्षेत्र वन्यजन्तुको उपस्थितीको हिसावले महत्वपूर्ण रहेको डिभिजन वन अधिकृत आचार्य बताउँछन् । 

अब महाभारत वन क्षेत्रलाई कसरि संरक्षण गर्दै अगाडी बढाउन सकिन्छ भन्ने महत्वपूर्ण बिषयमा गम्भीरतापुर्वक सोच्न जरुरी भएको डिभिजन वन प्रमुख आचार्य बताउँछन् ।



Developed by Smart Innovation