तनहुँमा चितुवा गणना हुने

८ साउन, २०७७   |  इकोखबर

तनहुँ जिल्लामा चितुवा गणना गरिने भएको छ । डिभिजन वन कार्यालय तनहुँले चितुवा गणना गर्न लागेको हो । डिभिजन वन कार्यालयका अनुसार चितुवाको सवैभन्दा बढी प्रकोप रहेको तनहुँको भानु नगरपालिकामा चितुवा गणना गरिने छ । 

चितुवाको आक्रमणबाट तनहुँमा एक वर्षमा छ जनाको ज्यान गइसकेको छ । त्यसमध्ये तीन जना भानु नगरपालिकाका मात्र छन् । आर्थिक वर्ष ०७७र७८ मा यहाँ रहेका चितुवा गणनाको काम सुरु हुने छ ।  यसका लागि कार्यालयले भानु नगरपालिकाभित्रका वनजङ्गल क्षेत्रको सर्भे गरेको छ । करिव चार हजार २०० हेक्टर वन क्षेत्रमा ३६ वटा बिन्दु पहिचान गरिएको छ । “प्रत्येक बिन्दुमा क्यामरा जडान गरी यहाँ रहेका चितुवा गन्ने कार्यक्रम बनाएका छौँ”, डिभिजन वन प्रमुख केदार बरालले भने , “चितुवा सँगसँगै चितुवाका आहारा प्रजाति पनि गणना गर्छौं ।”

चितुवाको आहारा प्रजाति संरक्षण गर्न सकिए चितुवा मानव बस्तीमा नआउने र मानवलाई आक्रमण नगर्ने कार्यालय प्रमुख बरालको भनाइ छ । चितुवाको आहारा प्रजाति संरक्षणका लागि घाँसे मैदानको अवस्था अध्ययन, पोखरी संरक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

“चितुवाको आहारा प्रजाति भानुमा नभएको खण्डमा त्यस्ता प्रजातिको संरक्षण गर्ने अभियान सञ्चालन गरिनेछ”, उनले भने, “घाँसे मैदान हराउँदै गएको र घाँस नभएपछि चितुवाको आहारा प्रजाति पनि लोप हुँदै जान थालेको छ ।”

मानवलाई आक्रमण गर्ने क्रम बढेपछि उक्त अवधिमा आठ चितुवा नियन्त्रणमा लिई उद्धार गरिएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनसँगको सहकार्यमा चितुवा नियन्त्रणमा लिएको थियो । यसका लागि सामुदायिक वनले काठको खोर बनाएका थिए । काठको खोर बनाउन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।

भानु नगरपालिकाबाट पाँच, बन्दीपुर गाउँपालिकाका दुई र व्यास नगरपालिकाका एक चितुवा नियन्त्रणमा लिई सुरक्षितरुपमा अन्यत्रै स्थानान्तरण गरिएको कार्यालयले जनाएको छ ।



Developed by Smart Innovation