वन मन्त्रालयको ढिला सुस्तीले वन उपभोक्ता समूहले सकेनन् दाउरा वितरण गर्न

१३ माघ, २०७७   |  इकोखबर

विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । शीतलहर र हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ । बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त नागरिक बढी प्रभावित बनेका छन् ।  

गएका वर्षमा बढी चिसो हुँदा नवलपुरका सामुदायिक वनले चोकचोकमा निःशुल्क रुपमा काठ दाउरा वितरण गर्ने गर्दथे । विभिन्न सामाजिक सङ्घ संस्थामाले आगो बालेर न्यानो प्रदान गर्नका लागि काठ दाउरा उपलब्ध गराउने गर्दथे तर , यसपाली भने वनबाट काठ दाउरा वितरण  भएको छैन । विगत वर्षमा चिसो छल्नका लागि वनबाट निःशुल्क दाउरा वितरण गर्ने गरेको भए पनि यस वर्ष भने, वितरण गर्न नसकिएको विजय सामुदायिक वनका अध्यक्ष तथा वैज्ञानिक वन सञ्जाल नवलपुरका अध्यक्ष मधुविलास अधिकारी बताउँछन् ।  १५ जेठमा सरकारले सालका काठ दाउरा ओसारपसार, सङ्कलन र बिक्री वितरणमा लगाएको रोक  खुल्ला गर्ने निर्णय मन्त्रीपरिषद वैठकले गत असोजमा गरेपनि वन तथा वातावरण मन्त्रालयले त्यसको कार्वान्यन नगर्दा दाउरा वितरण गर्न नसकिएको उनले बताए । 

जिल्लाका विभिन्न सामुदायिक वनमा ठूलो परिमाणमा दाउराको घाटगद्दी भए पनि सरकारको निर्देशनको कारण सामुदायिक वनले अहिले ती काठ दाउराको ओसारपसार र बिक्री गरेका छैनन् । मयुर पोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन थापा बयम्बु मगका अनुसार  घर निर्माणको तयारी गरेका उपभोक्ताको निर्माणको कामसमेत प्रभावित बनेको छ । “जङ्गलको  बीचमा बसेर घरमा काठका झ्याल, ढोका लाउन नपाइने, आल्मुनियम लाउनुपर्ने, कहिले पाइन्छ काठ भन्दै उपभोक्ता गुनासो गर्छन् । तर, हामी बाध्य छांै । घाटगद्दी गरेका काठ बिग्रन लागिसके उपभोक्तालाई दिन पाएका छैनांै”, उनले भने । काठ दाउराको अभावमा नवलपुरको कावासोती, देवचुलीमा रहेका  शवदाहस्थलमा समेत शव जलाउन दाउराको अभाव भएको छ । 

नवलपुरमा सामुदायिक वन, चक्ला वन र साझेदारी वनमा गरी तीन लाख क्युफिट भन्दा बढी काठ घाटगद्दीमा छन् । साझेदारी सामुदायिक वनमा करीब २२ हजार क्युफिट, चक्ला वनमा करीब ६७ हजार र सामुदायिक वनमा करीब तीन लाख ३० हजार क्युफिट घाटगद्दीमा रहेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहन काफ्ले बताउँछन् । सरकारले काठ बिक्री वितरणको लागि फुकुवा गरे पनि वन मन्त्रालयको कारण बिक्री वितरणको काम प्रभावित भएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल केन्द्रीय सदस्य सीता खड्काको भनाई छ । 



Developed by Smart Innovation