वनमन्त्रीको कार्यक्रम सचिवद्वारा बहिस्कार

१५ माघ, २०७७   |  इकोखबर

वन तथा वातावरण मन्त्री प्रेम आलेको कार्यक्रम सचिव विश्वनाथ ओलीले बहिस्कार गरेका छन् । वनमन्त्री बनेपछि आलेले बुधबार मन्त्रालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अनुपस्थित भएर ओलीले मन्त्रीको कार्यक्रम बहिस्कार गरेका हुन् । कुनै जरुरी कामले कतै गएर सचिव ओली अनुपस्थित भएका होइनन् । उनी मन्त्रालयमै भएर पनि  कार्यक्रममा आएनन् । उनका लागि कुर्सी खाली राखिएको थियो । मन्त्री आलेले अन्त्यसम्म सचिव आउने बताएका थिए । पछिल्लो समयमा मन्त्री र सचिवबिच विवाद देखिएको छ । खासगरी बैज्ञानिक वन र काठ खुल्ला गर्ने विषयमा मन्त्री र सचिवविच विवाद देखिएको हो । 
कार्यक्रम सञ्चालक वनमन्त्रीका राजनीतिक सल्लाहकार सम थापाले वनसचिव विश्वनाथ ओली पनि आउने जानकारी गराएका थिए । तर, करिब एक घन्टा चलेको कार्यक्रममा सचिव नै पुगेनन् । उनलाई छुट्याइएको कुर्सी खाली नै रह्यो । मन्त्रीले आयोजना गर्ने पत्रकार सम्मेलनमा सचिव, सम्बन्धित महाशाखा र विभागका प्रमुखसमेत सहभागी हुने प्रचलन छ । बरू सचिव ओलीले प्रशासन महाशाखा प्रमुख नवराज ढुंगानालाई पठाएका थिए ।  
पत्रकारले वैज्ञानिक वन व्यवस्थापनको प्राविधिक पाटोका साथै निजगढ विमानस्थलको रूख कटान, काठमाडौं–तराईरमधेस फास्ट ट्रयाकका विषयमा जिज्ञासा राख्दा मन्त्री आलेले भने, ‘सचिवज्यू आउँदै हुनुहुन्छ, उहाँले जानकारी दिनुहुन्छ ।’ तर, सचिव अन्तिमसम्म आएनन् । मन्त्रालयका प्रवक्तासमेत योजना महाशाखा प्रमुख प्रकाश लम्साल पनि अन्तिम समयमा पुगेका थिए । सचिव ओली आफ्नो ३०३ नम्बर कार्यकक्षमै थिए । 
साभार नयाँ पत्रिका 



Developed by Smart Innovation