वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका आरक्षपीडितको समस्या चाँडो समाधान गरिने बताएका छन् । चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा मन्त्री आलेले वर्षौंदेखि आरक्षपीडित भएकाहरुको समस्या समाधानका लागि पहल भइरहेको बताए । “आरक्षपीडितका बारेमा मैले सबै बुझेको छु, चाँडै समस्या समाधान गर्न पहल गर्नेछु, ” उनले भने । मन्त्री आलेले आरक्षपीडितहरुको समस्या समाधानका लागि एक छुट्टै आयोग गठन गरी पीडितले वर्षौंदेखि गुमाएको जग्गासमेत फिर्ता दिने आश्वासनसमेत दिए ।
कार्यक्रममा शुक्लाफाँटा आरक्षपीडितहरुले आफू आरक्षबाट वर्षौंदेखि पीडित भएको र आफूले लगाएको बालीनाली पनि निकुञ्जबाट आउने जनावरहरुले खाने गरेका कारण झनै पीडित भएको भन्दै समाधानका लागि मन्त्री आलेलाई ज्ञापनपत्रसमेत पेश गरेका थिए । शुक्लाफाँटा निकुञ्जका आरक्षपीडितको विसं २०५८ देखि अहिलेसम्म पनि उचित व्यवस्थापन हुन नसकेको पीडितहरुको गुनासो छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०७३ देखि आयोजना हुँदै आएको महोत्सव ‘पर्यटकीय सम्भावनाहरुको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नाराका साथ आज आइतबारदेखि शुरु भएको हो । भीमदत्त नगरपालिकाको आयोजनामा सञ्चालन भएको सो महोत्सव यही फागुन १५ गतेसम्म सञ्चालन हुने छ ।
महोत्सवबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका संरक्षित वन्यजन्तु, विशाल घाँसे मैदान, तालतलैया र दुर्लभ वनस्पतिका बारेमा जानकारी गराउन सहयोग पुग्ने भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताए । तीन सय ५ वर्गकिलोमिटरमा निकुञ्ज घाँसेमैदान र विश्वमै दुर्लभ बाह्रसिङ्गाको सबैभन्दा ठूलो बासस्थान मानिन्छ ।