‘अंग्रजीमा बोल्ने भनेपछि रोएँ’

१० फागुन, २०७७   |  इकोखबर

भारती पाठक सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भएको भर्खर एक महीना मात्र भएको थियो । यो २०६४ सालको कुरा हो । एकदिन, सामुदायिक वन उपभोक्ता महासंघको पुरानो वानेश्वर स्थित कार्यालयमा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष, महासंघका केन्द्रीय पदाधिकारीसंगै थिइन् भारती । कोषाध्यक्षमा निर्वाचित भएकी उनी नयाँ थिइन् । कसैलाई चिन्दिनथिन् ।

तर, महासंघकै केन्द्रीय समितिमा बसेका उनका साथीहरुले त्यहाँ रहेका जिल्ला अध्यक्षहरुलाई जिल्ला वन अधिकृत (डिएफओ) भनेर चिनाए । “साथीहरुले गलत खालको परिचय गराइदिनुभयो । महासंघको देशभरको मानिस मैले चिनेको थिइन । डिएफओ पनि मैले चिन्ने भइन । हाम्रै जिम्मेवार साथीहरुले फेकोफनको अध्यक्षलाई उहाँ डिएफओ भनेर चिनाइदिनुहुन्थ्यो । महासंघको अध्यक्ष र डिएफओ नचिन्ने भनेर एकछिन पछि मलाई उहाँहरुले उडाउनुभयो,” विगत सम्झंदै भारती भन्छिन् “त्यहाँ मलाई डोमिनेट गरिएको थियो  । मलाई यथार्थ कुरा भनिदिनुपर्दथ्यो  । बच्चलाई जे सिकायो, त्यही सिकाउने हो, मैले त डिएफओ भनेर नै चिनें । यो एक्कासी नेतृत्वमा आई यसले त देशभरको मान्छे चिनेको छैन भने ।”

मकवानपुरको हेटौंडामा बसेर सामुदायिक वनको जिल्ला महासंघ र विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल भारती एकाएक पहिलो पटक नै केन्द्रीय कोषाध्यक्ष निर्वाचित भएपछि महासंघको राजनीतिमा उनको चर्चा हुनु स्वभाविक थियो । किनभने उनले आफूभन्दा ‘सिनियर’ लाई निर्वाचन मार्फत फराकिलो मतान्तरले पराजित गरेकी थिइन् । त्यसकारण पनि उनलाई उडाउनेहरुको पंक्ति ठूलो थियो । उनलाई मन नपराउनेहरुले उनलाई आकासबाट खसेकी भनेर टिप्पणी गर्थे भने उनलाई होच्चाएर बोल्ने पनि थिए । “आकासबाट खसेको पनि भन्न भ्याए । आकासबाट उडेर आइ भने । डोमिनेट गर्ने धेरै भए,” भारती भन्छिन् “जुन खालको वातावरण पाउनुपर्ने हो, त्यो वातावरण भएन ।”

मकवानपुरका कुना कन्दरा गाउँ बस्ती चाहरेकी उनलाई काठमाडौं भने नयाँ ठाउँ थियो । दूरी र सीमानाका हिसावले काठमाडौं र मकवानपुर नजिक थिए । तर, उनलाई काठमाडौं आउने काम नै पर्दैनथ्यो । काठमाडौं आएपनि हेटौंडा फर्कनै वेर हुन्थ्यो । “काठमाडौं आउने भनेको त, विरामी पर्दा औषधी उपचारका लागि मात्र हो,” उनी भन्छिन् “काठमाडौं आउने काम नै पर्दैनथ्यो ।”

पद त्यागको मनस्थिती

कोषाध्यक्षमा निर्वाचित भएपछि संघर्षको यात्रा सुरु भयो । सहयोग गर्ने भन्दा असहयोग गर्ने धेरै थिए । उनको आफ्नो सवारी साधन थिएन । कहिंकतै जानुपर्दा पुरुषसंग ‘लिफ्ट’ माग्थिन् । तर, पुरुषसंग मोटरसाइकलमा ‘लिफ्ट’ मागेको विषयलाई लिएर उनको चरित्रमाथि टिप्पणी गर्ने जमात पनि कम थिएन् । “कोषाध्यक्ष हुँदा मैले धेरै लिफ्ट मागेर हिंड्नुपर्ने अवस्था थियो । म काठमाडौंको लागि नयाँ थिएँ । गाउँमा हुर्केको मान्छे, काठमाडौंमा आएर यहाँको धेरै राजनीति बुझेका मानिससंग स्थापित हुनको लागि म त्यसो गर्थे, तर त्यसलाई पनि केही मानिसले चरित्रसंग जोडेर टिप्पणी गरे,” उनी सुनाउँछिन् । एउटा यस्तो पंक्ति थियो, त्यो पंक्तिले एकातिर उनको चरित्रको बारेमा टिप्पणी गर्दथ्यो भने अर्कोतिर कोषाध्यक्षबाट पदत्याग गराउन चाहन्थ्यो । अनेक प्रकारबाट कोषाध्यक्षको पद त्याग गर्न उत्प्रेरित गरिरहेका हुन्थे, उनीहरुले । “तपाँइले छोड्नुस, खासै काम के हुन्छ र यहाँ । हेटौंडा बसेको मान्छे, तपाँइलाई उहीं ठीक छ, भनेर मलाई राजिनामा गर्न सुझाव दिइन्थ्यो,” भारती बताउँछिन् । 

कोषाध्यक्षमा निर्वाचित भएको छ महीनामै उनी निरास भइन् । उनलाई महासंघमा बसेर काम गर्न सकिन्न जस्तो लाग्न थाल्यो । काठमाडौंमा बैठक सकेर छिटो छिटो हेटौंडा नै फर्कन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । धेरैतिरको असहयोगले कोषाध्यक्षबाट राजिनामा गर्ने मनस्थिीमा पुगिन् । आफूलाई परेको अफ्ठारोका बारेमा बुवासंग कुरा गरिन् । तर, बुवाले उनलाई छोडन् होइन, अझ धेरै संघर्ष गरेर अघि बढ्न हौसला दिए । बुवाले दिएको हौसलाले आत्मबल बढ्यो । “मलाई महासंघमा टिकाउन मेरो परिवारको ठूलो सहयोग छ । घरबाट बाहिर निकालेको नै वुवाले हो,” उनी भन्छिन् । 

बुवाले दिएको हौसलाले उनको आत्मबल बलियो भयो । जसले कोषाध्यक्षबाट राजिनामा गर्न सुझाउँथे उनी झन दरोसंग राजिनामा होइन अगाडी बढ्ने निर्णयमा पुगिन् । आफूलाई मत दिएको मतदातालाई सम्झिन । सवै जिल्लामा फोन गरेर जिल्ला महासंघ तथा समूहहरुसंगको सम्पर्क सम्वन्धलाई बढाइन् । मलाई राजिनामा गर्न उत्प्रेरित गर्ने साथीहरुलाई त म धन्यबाद दिन्छु । उहाँहरुले त्यसो नगर्नुभएको भए म छोड्थें होला । उहाँहरुले गरेको असहयोगले नै म झन प्रतिवद्ध भएर लागें,” विगत सम्झंदै भन्छिन् । 

संघर्षले सफलता

भारती पाठक अहिले महासंघको केन्द्रीय अध्यक्ष हुन् । कोषाध्यक्षबाट सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रमा प्रवेश गरेकी उनलाई अध्यक्षसम्म पुग्नका लागि थुप्रै संघर्ष गर्नुपर्यो । महीलालाई नेतृत्वमा पुग्न कति संघर्ष गर्नुपर्दोरहेछ भन्ने उदाहरण पनि हुन् भारती । संगै उनको संघर्षको कथामा उत्प्रेरणका पाटा पनि पाइन्छ । दुई कार्यकाल कोषाध्यक्ष एक कार्यकाल महासचिव भएर अध्यक्ष हुँदा पनि उनलाई रोक्ने थुप्रै प्रयास भए । तर, ती सवै चुनौतीलाई पार गरेर अध्यक्षमा सफलता हात पारिन् ।

उनी महासचिवमा निर्वाचित भएको दुईवर्ष अघिबाट नै प्रत्यक्ष र अप्रत्यक्ष रुपमले अध्यक्षमा प्रतिस्प्रर्धा सुरु भयो । उनी अध्यक्षको स्वभाविक उम्मेदवार थिइन् । तर, एउटा पंक्ति उनलाई महासंघको अध्यक्ष हुनबाट जसरी पनि रोक्ने अभियानमा थियो । सामुदायिक वन उपभोक्ता महासंघको विधान अनुसार महाधिवेशनको प्रतिनिधि बन्नका लागि सवैभन्दा पहिला उपभोक्ता समूहबाट प्रतिनिधि छनोट हुनुपर्दछ । त्यसपछि पालिका र प्रदेश पार गर्नुपर्दछ ।

उनलाई मकवानपुरको आफ्नै समूहमा हराउनका लागि प्रयास भयो । त्यो सम्भव नै थिएन । किनभने उनको समूहमा उनी बलियो थिइन् । हेटौंडा उपमहानगरपालिका स्तरीय महासंघको अधिवेशनबाट पनि उनी प्रतिनिधि छनोट भइन् । तर, पालिकाको अधिवेशनको वैधानिकतालाई लिएर उच्च अदालत हेटौंडामा उनका विपक्षीहरुले छ महीनाका लागि अन्तरिम आदेशको माग गर्दै २०७५ साउनमा रिट दिए । महासंघको महाधिवेशन असोज दोस्रो हप्ताका लागि तोकिएको थियो । रिट निवेदकको उद्देश्य नै जसरी पनि भारतीलाई प्रतिनिधि हुनबाट रोकेर अध्यक्ष बन्न नदिने दाउ थियो । तर, उच्च अदालतले असोज पहिलो हप्ता अधिवेशनलाई वैध ठहर गर्दै फैसला सुनाएकाले उनको बाटो खुल्यो । 

डर्वानमा सिक्रि लुटिंदा..... 

सामुदायिक वन उपभोक्ता महासंघको कोषाध्यक्ष भएपछि उनलाई थाइल्याण्ड जाने अवसर जुर्यो । यो उनको पहिलो विदेश यात्रा थियो । त्यसभन्दा अघि नेपालमा जहाज चढेकी थिइनन् । 

“कहिल्य जहाज चढेको अनुभव नै थिएन । प्लेन चढ्दा वित्तिकै चाउ चाउ फुटाएर खान थालें । अरुले नखाउ खान दिन्छन भन्थे । भोक लागेको थियो । पछि त लाज भयो,” आफ्नो विदेशयात्रा बारे भारती सुनाउँछिन् । 

व्याङ्कक पुगिन् । उनी गएको कार्यक्रममा अरु नेपाली पनि थिए । उनी मुन्नि गौतमसंग कोठा सेयर गरेर बस्नुपर्ने भयो । तर, उनका लागि व्याङ्कक बसाई भने झयाल खानामा बसे जस्तै भयो । “मलाई अंग्रेजी भाषा पनि आउँदैनथ्यो, बाथरुम गयो धारा खोल्न नआउने, सुत्न गयो ढोका लगाउन नआउने,” उनी भन्छिन्  “एकदमै पीडा भयो । फोर स्टार होटलमा पीडैपीडामा सुतें ।” संगै बसेको साथीले नसिकाउँदा पनि समस्या भएको उनको अनुभव छ । 
उनी अहिलेसम्म ४० भन्दा बढी देश पुगिन् । तर, उनका फरक ठाउँमा फरक फरक अनुभव छन् । बाहिर जाँदा सधै साथीभाई हुँदैनथे । सुरु सुरुमा धेरै दुख भएको उनी बताउँछिन् । 

पेरिसमा एक दिनको कार्यक्रममा सहभागी भएर घाना जानुपर्ने थियो । पेरिस पुगेर कार्यक्रममा सहभागी त भइन् । तर, साँझ बासको लागि कार्डबाट भुक्तानी गर्न नजान्दा समस्या भयो । नेपालमा फोन गरेर पैसा भुक्तानीको व्यवस्था गरिदिएपछि सुत्न पाएको उनी सुनाउँछिन् । 

 

उनी घाना पुगेर कार्यक्रममा सहभागी भइन् । तर, आउँदा एयरपोर्टमा उस्तै समस्या । अध्यागमनका कर्मचारीले उनको पासपोर्ट नै राखिदिएर अघि बढ्न दिएनन् । 
“अध्यागमनमा सवैका पासपोर्ट दियो, मेरो पासपोर्ट राख्दियो । मेरो पासपोर्ट देउ भन्छु, मलाई स्वीट खाने पैसा दे भन्छ,” उनी भन्छिन्  “फलाइट छुट्यो भने यसको काम हो भनेर थपक्क बसें, अन्त्यमा पासपोर्ट निकालेर पर फालिदियो । थ्याकु भनेर पासपोर्ट टिपेर आफ्नो बाटो लागें ।”

सरकारी विद्यालयमा पढेकी अंग्रेजी भाषा राम्रो थिएन । एकपटक पानामा गएको वेला उनलाई अंग्रेजीमा बोल्नुपर्ने भयो । अब के बोल्ने बोल्ने उनलाई फसाद पर्यो । त्यसबेला भारतीका आँखाबाट आँसु झरे । “के बोल्ने ? विग्रेला र वेइज्जत होला कि भन्ने भयो, जे जानेको छ, त्यही बोलें,” उनी भन्छिन् । 

अफ्ठारो परिस्थितीले उनको आत्मविश्वास बढ्दै गयो । व्यवहारिक प्रयासले अंग्रेजीमा बोल्न सक्ने भइन् । अहिले आफ्नो क्षेत्रसंग सम्वन्धित विषयलाई अंग्रेजीमा बुझाउन सक्ने उनी बताउँछिन् । 
विदेश यात्राका क्रममा तिता अनुभव पनि छन् उनीसंग । एकपटक उनी एउटा कार्यक्रममा भाग लिन दक्षिण अफ्रिकाको डर्वान गएकी थिइन् । बाटोमा हिंड्दा एक जनाले उनको गलामा मुक्काले हानेर घाँटीको सिक्रि लुट्यो । उनीसंगै रहेकी सोनी बराल ढुँगो टिपेर लुटेराको पछि पछि दगुरिन् । र, लुटेराले सिक्रि फाल्दियो । तर, त्यसो गर्नु एकदमै जोखिम थियो । 

“त्यो एकदमै खतरा थियो । त्यसबेला त्यो चोरले गोली हान्न पनि सक्थ्यो । धन्न उसले गोली चलाएन र हामीलाई केही भएन ” भारती भन्छिन् । 

 



Developed by Smart Innovation