शंकरनगर सामुदायिक वनमा पद हस्तान्तरण

१ चैत, २०७७   |  इकोखबर

शँकरनगर सामुदायिक बन उपभोक्ता समूह तिलोत्तमा नगरपालिका १—४, रुपन्देहीमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको छ ।

समूहको २० औं बार्षिक साधारण सभा तथा नवौं अबिधेशनबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आइतबार पदस्थापन गरिएको हो ।  

गत माघ ७ गते सम्पन्न समूहको २० औं साधारण सभापछि नवौं  अबिधेशनबाट चयन हुने पदाधिकारी तथा सदस्यहरुका लागि निर्वाचन समितिले चरणवद्ध रुपमा निर्वाचन कार्यक्रम संचालन गरेको थियो ।

समूहको विधान अनुसार निर्वाचन समितिले समूहका ९ वटा ब्लकबाट ३११ जना पार्षदको निर्वाचन गरी निर्वाचित पार्षद मध्येबाट ९ जना ब्लक संयोजक (कार्यसमिति सदस्य), चार जना पदाधिकारी र तीन सदस्यीय लेखा समिति निर्वाचन प्रक्रिया मार्फत सर्वसम्मत चयन गरेको हो ।

निर्वाचन मार्फत आगामी ५ बर्षे कार्यकालका लागि समूहको अध्यक्षमा रबिन्द्र बस्नेत, उपाध्यक्षमा कमला ज्ञवाली, सचिवमा कालिका अधिकारी, कोषाध्यक्षमा भुवन आचार्य तथा कार्यसमिति सदस्यमा कमला केसी, डोरबहादुर पुन, मिनप्रसाद देवकोटा, तुल्सी न्यौपाने गौतम, लालबहादुर भण्डारी, सिता श्रीस, कृष्ण केसी, डोलराज ज्ञवाली र यमलाल पन्त निर्वाचित भएका छन् ।

यस्तै समूहको लेखा संयोजकमा गोविन्द प्रसाद अर्याल तथा सदस्यहरुमा गोविन्द प्रसाद शर्मा र खिमा गुरुङ निर्वाचित भएका छन् । नवनिर्वाति पदाधिकारी, सदस्य, लेखा समिति र पार्षदहरुलाई निर्वाचन समितिका संयोजक मिनप्रसाद पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेका थिए ।

सोही अवसरमा वनका निवर्तमान अध्यक्ष राम गिरी, सचिव ईन्दु थापा र कोषाध्यक्ष काँशीराम काफ्ले र लेखा संयोजक ठाकुर ढकालले नवनिर्वाचत पदाधिकारीलाई माइन्युट तथा चेक प्रदान गरी पद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सामुदायिक वनको सम्पुर्ण कार्यकारी अधिकार समूदायमा निहित रहने हुनाले यसको संरक्षण र विकासमा पनि समूदाय नै क्रियाशिल हुनुपर्ने धारणा राखे ।

निर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै प्रमुख घिमिरेले सामुदायिक वनको दिगो ब्यवस्थापनका लागि सघीय सरकार र तिलोत्तमा नगरपालिकाले बजेट विनियोजन गरेको जानकारी गराउंदै नगरपालिकासंग समन्वय गरेर वजेटको सही परिचालन गर्न समितिलाई आग्रह गरे ।

सो अवसरमा एमाले तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाई, नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष भोम बहादुर बुढालगायतले बोल्दै स्थानीय समुदायको सहभागिता र योगदान विना वन क्षेत्रको सफल संरक्षण र स्रोतको ब्यवस्थापन हुन नसक्ने वताए ।

वनको दिगो ब्यवस्थापन, संरक्षण र विकासका लागि  सबैको सहकार्यको आवश्यक्तालाई बोध गरेर सबै राजनीतिक दलको पहलमा सबैको प्रतिनिधित्व र सबैले अपनत्व महशुस गर्ने गरी समावेसी नेतृत्व चयन गरिएको बताए ।

 



Developed by Smart Innovation