नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि मध्वर्ती क्षेत्रका रुख काटिँद

१६ चैत, २०७७   |  टेकराज पोखरेल /रासस

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काट्न शुरु गरिएको छ । 

मध्यवर्ती क्षेत्रमा पर्ने सडकका दुवै किनाराका रुख काट्न शुरु गरिएको हो । डिभिजन वन अन्तर्गत पर्ने स्थानका रुखहरु काट्ने काम सकिएको भए पनि कानूनी अड्चनका कारण मध्यवर्ती क्षेत्रमा पर्ने रुख काट्ने काम हुन सकेको थिएन ।

मन्त्रिपरिषद्बाट निर्णय भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रुख काट्नका लागि अनुमति दिएलगत्तै सडक विस्तारका लागि आवश्यक पर्ने रुख काट्न शुरु गरिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको खण्ड ‘क’का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । 

सो सडकखण्डको कावासोतीबाट गैँडाकोटको थुम्सीसम्मको सडकको दक्षिणतर्फ रहेका वन मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले रुख काट्ने काम प्रभावित हुँदै आएको थियो । अनुमति पाएपछि अहिले केहीदिन अगाडिदेखि थुम्सी तथा कावासोतीको जङ्गलमा रुख काट्ने काम भइरहेको छ । 

जङ्गलबाहेक अन्य क्षेत्रमासमेत सडकबाट ५० मिटर दक्षिणतर्फका रुखहरु मध्यवर्तीमा पर्ने भएकाले सबै रुख काट्ने काम हुन सकेको थिएन । आचार्यका अनुसार मध्यवर्ती क्षेत्रमा पर्ने करिब चार हजार रुख काटिने छन् ।

३० सेन्टिमिटर गोलाइ वा सोभन्दा बढी गोलाइ भएका रुखहरुको छपान गरेर काटिएको हो ।

मध्यवर्ती क्षेत्रमा पर्ने चार हजार रुखमध्ये अब एक हजार ५०० रुख काट्न बाँकी छन् । ती पनि केही दिनभित्र काटिने छ । सो क्षेत्रमा साल, सिमल, खयर, करङ प्रजातिका रुखहरु बढी छन् ।

रुख काट्नका लागि अनुमति ढिला आउनु तथा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि मुलुकमा भएको लकडाउनले सडक विस्तारको कार्यले गति लिन नसकेको आयोजनाले जनाएको छ । 

सो सडक विस्तारका क्रममा पटकपटक मजदूरले आन्दोलन गर्दासमेत निर्माणको काम प्रभावित हुँदै आएको आयोजनाको खण्ड ‘क’ प्रमुख रमेशकुमार दिष्टीले बताए । पछिल्लो पटक मजदूरले तलब सुविधा नपाएको भन्दै चैत ६ गतेदेखि सडक विस्तारको काम ठप्प पारेका थिए । 

मजदूरको आन्दोलन अघि आयोजनाको खण्ड ‘क’को विभिन्न स्थानमा करिब ४०० मजदूरले सडक विस्तारको काम गरिरहेका थिए । साढे तीन वर्षमा सडक विस्तारको काम सक्नेगरी चाइना स्टेट इन्जिनियरिङ कम्पनीले निर्माणको ठेक्का पाएको थियो ।

ठेक्का सम्झौता भएर २०७५ चैत ८ देखि निर्माण शुरु भएको आयोजनाको काम दुई वर्ष बित्दा चार प्रतिशत मात्रै सकिएको खण्ड ‘क’ प्रमुख दिष्टीले जानकारी दिए ।  

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको ११५ किलोमिटर सडकमध्ये गैँडाकोट–दाउन्ने खण्डको ६५ किलोमिटर सडकलाई खण्ड ‘क’ तथा दाउन्ने–बुटवल खण्डको ५० किलोमिटर सडकलाई खण्ड ‘ख’ बनाएर निर्माणको काम भइरहेको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विस्तारको काम भइरहेको सो आयोजनाको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण सहयोग उपलब्ध गराउने र बाँकी रकम नेपाल सरकारकै लगानी रहनेछ । 

अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडकखण्डलाई चार लेनको बनाउन लागिएको हो । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुवैतर्फ सात÷सात मिटरको सडक हुनेछ ।

बजार क्षेत्रमा ६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिनेछ । उकालोतर्फ चढ्ने सवारी साधनले प्रयोग गर्नेगरी दुई लेन र ओरालोमा झर्ने सवारी साधनले एक लेन प्रयोग गर्नेगरी तीन लेनको सडक निर्माण गरिने आयोजनाले जनाएको छ । 

सडक विस्तारपछि पनि निर्माण कम्पनीले पाँच वर्षसम्म मर्मत सम्भारको काम गर्नुपर्ने गरी सम्झौता भएको छ । 



Developed by Smart Innovation