कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि

२७ चैत, २०७७   |  इकोखबर

कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ ।

सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी हँुदा लाखौँ मूल्यको काठ जलेर नष्ट भएको छ । आगलागीका कारण बासस्थान नासिँदा वन्यजन्तु मानवबस्तीतर्फ आउने र मारिने क्रमसमेत बढेको छ ।

वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार ९९ प्रतिशत आगलागीका घटना मानवीय कारण हुने गरेका छन् भने एक प्रतिशत घटनामात्रै प्राकृतिक कारणले हुने गरेको छ ।

चुरोटका ठुटा, सलाइका काँटी वन क्षेत्रमा फाल्दा र गोठालाले जानीजानी आगो लगाउँदा तथा वन क्षेत्रमा वनभोज जानेले खाना पकाइसकेपछि आगो ननिभाउनेलगायत कारणले आगलागीका घटना हुने गरेका छन् ।

“गत वर्ष १५० हेक्टर वन क्षेत्रमा मात्रै आगलागी भएको थियो”, डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी अवस्थीले भने, “यस वर्षको अहिलेसम्म २०० हेक्टर वन क्षेत्रमा आगलागी भइसकेको छ । गर्मी मौसम अझै बाँकी रहेकाले हावाहुरी चल्ने क्रमसँगै आगलागीका घटनामा वृद्धि हुनसक्ने देखिएको छ ।”

पानी नपरेका कारण पनि आगलागीका घटनामा वृद्धि हुँदै जान थालेको उनले बताए । सामुदायिक वनका पदाधिकारी, प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली वन क्षेत्रमा लागेको आगो निभाउने कार्यमा सक्रियरूपमा लागेका छन् । 

हालसम्म ३० भन्दा बढी सामुदायिक वन, लालझाडी संरक्षित वन, राष्ट्रिय वन क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा आगलागीका कारण व्यापक क्षति भएको छ ।

आगलागीबाट बुट्यान, पुनः उत्पादन भएका बिरुवा, ढलापडा काठ, वन्यजन्तु र चराचुरुङ्गीको बासस्थानमा क्षति पुगेको छ । रातदिन नभनी वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा लागेको बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए । “वनका उपभोक्तासहित पालो मिलाएर आगो नियन्त्रणमा लागेका छौँ”, उनले भने , “लाखौँ मूल्यको काठ जलेर नोक्सानी भएको छ । बाह्य क्षेत्रबाट काठ निर्यात गरेर ल्याउँदैछौँ ।”

वन क्षेत्रमा लागेको आगोले गर्दा आयात गर्नेभन्दा बढी काठ जलेर नष्ट हुँदै आएको छ । वन क्षेत्रमा ढलापडा काठ नै सङ्कलन गरिने हो भने बाह्य क्षेत्रबाट काठ ल्याउनै पर्दैन ।यसका लागि राज्यले नीति बनाउनुपर्छ ।

चुरे क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न भने चुनौतीको सामना गर्नुपरेको छ । भौगोलिक विकटता र आवश्यक सामग्री अभावमा चुरे क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न निकै समस्या भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अवस्थीको भनाइ छ ।

आगलागीका कारण वन्यजन्तु बस्तीमा छिर्दा मानव र जीवजन्तुबीचको द्वन्द्वसमेत बढेको छ । आगलागीका कारण  वायु प्रदूषणको समस्यासमेत निम्तिएको छ । वायु प्रदूषणका कारण मानवीय स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ ।



Developed by Smart Innovation