मकवानपुरमा डढेलोले ४ करोड बराबरको क्षति

२७ चैत, २०७७   |  इकोखबर

डढेलोका कारणले मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्ममा रु तीन करोड ७० लाख मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा विभिन्न स्थानमा डढेलो कारण ३८ घर जलेर नष्ट भएको छ । डढेलोले एक हप्ता अगाडि मकवानपुरमा एक वृद्ध महिलाको मृत्यु भएको छ भने पाँच  घाइते भएको प्रहरीले जनाएको छ । घाइते सामान्य उपचारपछि घर फिर्ता भएको सो कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

त्यस्तै डढेलोले तीन पक्की र ३५ कच्ची घर जलेर नष्ट भएकोे छ । साथै २३ गोठ तथा बाख्रालगायतका ५० चौपाया जलेर मरेको छ । केही सङ्घ÷ संस्थाले पीडितलाई  राहत सहयोग गरेको पनि जानकारी दिइएको छ ।
 
यसैबीच डढेलोको कारण मकवानपुरगढीका खानेपानी तथा सिँचाइका पाइपमा क्षति पुगेको छ । त्यहाँ खानेपानीको समस्या भएको छ । गत मगङ्लबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ को सानोगढीबाट शुरु भएको डढेलोले मकवानपुरगढी बृहत् खानेपानीको १४० एमएमको १०० मिटर पाइप नष्ट भएको बताइएको छ ।

त्यहाँ प्रथम धवाडी सिँचाइ, माथिल्ला धवाडी सिँचाइ, धवाडी दोस्रो खानेपानी र धरमपानी खानेपानीअन्तर्गत ४०० मिटर पाइप नष्ट भएको धवारी दोस्रो खानेपानी उपभोक्ता समूहका सचिव इमनाथ तिमल्सिनाले बताए। अप्ठ्यारो ठाउँ भएकाले आगो निभाउनसमेत समस्या रहेको उनले बताए। मकवानपुरगढी बृहत् खानेपानी  योजनाअन्तर्गतका १५० मिटर पाइप पनि डढेलोका कारणले नष्ट भएको उक्त बृहत् खानेपानी उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिए। 

पाइप नष्ट भएकाले गाउँपालिकाको वडा नं २, ३ र ४ का करिब दुई हजार घरपरिवार खानेपानीबाट प्रभावित हुन पुगेका छन् । पाइप नष्ट भएको स्थानमा नयाँ पाइप जोड्न र मर्मत गर्न समय लाग्नेछ । मर्मतसम्भार नभएसम्म पानीका वैकल्पिक उपाय खोज्न र पानीको कम प्रयोगमा जोड दिन  उपभोक्ता समूहले आग्रह गरेको छ ।



Developed by Smart Innovation