मकवानपुरमा भेटियो दुर्लभ ‘भोटेलहरा’, के हो भोटेलहरा ?

१८ साउन, २०७८   |  इकोखबर

सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तरराष्ट्रिय व्यापार महासन्धि (साइटिस महासन्धि) को अनुसूची–३ मा सूचिकृत दुर्लभ वनस्पति ‘भोटेलहरा’ मकवानपुरमा भेटिएको छ । 

वानस्पतिक अन्वेषण तथा सर्वेक्षणबाट नेपालको तनहुँ, सङ्खुवासभा र मकवानपुरमा मात्र पाइने भनिए पनि पछिल्लो समय मकवानपुरमा भोटेलहरा लोप भइसकेको अनुमान गरिएको थियो ।

पछिल्लोपटक मकवानपुरस्थित वनस्पति अनुसन्धान केन्द्रमा सरुवा भई आउनुभएका वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले खोजका क्रममा भोटेलहरा फेला पारेका हुन् । यो ताजा खोजले नेपालको प्रकृतिमा दुर्लभ भोटेलहरा छ भन्ने पुनःयकीन भएको छ । 

खोजका क्रममा मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन क्षेत्रमा दुर्लभ भोटेलहरा फेला परेको वरिष्ठ वैज्ञानिक अधिकृत पराजुलीले जानकारी दिए। 

मकवानपुरको मनहरी, लोथर, फापरवारी, गढी, भैँसे, चुरियामाई, भीमफेदीलगायतका क्षेत्रमा खोजी गर्दा पनि नभेटिएपछि मकवानपुरबाटै लोप भएको होकि भन्ने शङ्का उब्जिरहेका बेला यात्राको क्रममा ठिङ्गनमा भोटेलहराको बोट भेटिएको पराजुलीले बताए । 

वरिष्ठ वैज्ञानिक अधिकृत पराजुलीका अनुसार भोटेलहरा सङ्कटापन्न सूचीमा रहेको वनस्पति हो । नेपालमा यसको प्राकृतिक उपलब्धताको सुनिश्चित गर्नुमै यसको महत्व रहेको छ । वनस्पति विज्ञानमा निटासी परिवारमा पर्ने निटम जातिको वनस्पतिका विश्वभर करिब ४० प्रजाति रहेको अध्ययनले देखाएका छन् । 

सोमध्ये नेपालमा पाइने प्रजाति निटुमोन्टलम हो । यसको स्थानीय नाम भाटेलहरा हो । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तरराष्ट्रिय व्यापार महासन्धि (साइटिस महासन्धि) २०७३ को पक्षराष्ट्र भएका कारण यसको कार्यान्वयनको लागि नेपालले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तरराष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्ने ऐन २०७३ र नियमावली २०७६ ल्याएको छ ।साइटिस महासन्धिमा रहेका तीन अनुसूचीमध्ये भोटेलहरा अनुसूची ३ मा पर्दछ ।

भोटेलहरा ढिलो बढ्ने सदावहार वनस्पति हो । यो एक लहरा खालको वनस्पति हो । भाले र पोथी बिरुवा अलगअलग हुने भएका कारण यिनीहरूमा परागसेचन हुन नसकेर पनि यो प्रजातिका नयाँ बिरुवा विस्तार नभएको पराजुलीले बताउनुभयो । यसको फल दम खोकीमा उपयोगी हुने अध्ययनले देखाएका छन् । 

वनस्पति अनुसन्धान केन्द्रका प्रमख वरिष्ठ वैज्ञानिक अधिकृत पराजुलीका अनुसार राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाको अभिलेखअनुसार सन् १९६५ मा सबैभन्दा पहिले एमएल बेनर्जी नेतृत्वको समूहले पूर्वी नेपालको सिदुवा क्षेत्र आसपासबाट भोटेलहरा सङ्कलन गरेको थियो । 

यसैगरी सन् १९६६ मा मकवानपुर वृन्दावन वनस्पति केन्द्र क्षेत्रबाट सङ्कलन गरिएको थियो । त्यसयता रतुवाखोला, चुलाचुली, चितवन, सङ्खुवासभाका विभिन्न स्थान र तनहुँबाट हर्वेरियम सङ्कलन भएको पाइएको छ । सङ्खुुवासभाको नुम क्षेत्र, तनहुँको ढोरफिर्दी र ढोरबाराही मन्दिर क्षेत्रबाट सङ्कलन गरिएको अभिलेख छ ।  
 



Developed by Smart Innovation