जङ्गली जनावरका कारण किसान हैरान

९ भदौ, २०७८   |  इकोखबर

बैतडीमा जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । बँदेल, बाँदर र दुम्सीले आतङ्क मच्चाएका हुन् । यी जङ्गली जनावरले यहाँका किसानले लगाएका बालीनाली सखाप पार्न थालेका हुन् ।  दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदेलले मकैबाली तथा अन्य खाद्यबाली र फलफूल, तराकारी नष्ट गर्न थालेका हुन् ।  

खास गरेर मुख्य खाद्यबालीका रुपमा रहेको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेका हुन् ।  जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन धौधौ परेको किसानले बताएका छन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि मकैबाली जोगाउन सकस परेको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताए ।   

पाक्नै लागेको मकैलाई जङ्गली जनावरहरुले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नु परेको छ । 

रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको किसान जयसिंह नाथले बताए ।  टहरा बनाएर रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन नसकिएको नाथको भनाइ छ  ।  “रातभरि खेतमै बस्नु परेपछि बाजागाजाका साधनहरु टहरोमै लगेर गीत गाएर बस्ने गरेका छौँ,” उनले भने , “हरेक वर्ष बँदेल धपाउन पहरा बस्ने गरेका छौँ ।,”  बाँदर धपाउन सबै काम छोडेर आफूहरुले मकैको गोठालो लाग्नु परेको स्थानीयवासी वीरेन्द्र धामीले बताए । बाँदरले मकैबालीसँगै आँप, अनारलगायत फलफूल पनि नष्ट पारेको छ । 

साँझबिहानको छाक टार्नका लागि लगाएको मकै बाली बँदेलले सखाप पर्दा निकै समस्या हुने देखिएको किसानको भनाइ छ  । प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि क्षतिपूर्ति पाउन नसकेको किसानहरुले बताएका छन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् ।

स्थानीय सरकारहरुले किसानका समस्या समाधान गर्न नसकेको किसान वीरबहादुर टेरले बताए । जङ्गल नष्ट हुँदा खानेकुराको अभावमा जङ्गली जनावर खेतबारीमा पस्ने गरेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । 

बैतडीमा १४ हजार नौ सय हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गरिँदै आएको छ । 



Developed by Smart Innovation