कीर्तिपुर नगरपालिकाले खनेको सडकमा पहिरै पहिरो, महत्वपूर्ण वन क्षेत्र नासियो

२४ भदौ, २०७८   |  इकोखबर

कीर्तिपुर नगरपालिकाले जंगल मासेर खनेको सडकमा गएको पहिरोले कीर्तिपुर माथिको बनमा थप क्षति पुगेको छ । 

पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण र चलन चल्तीमा रहेको पदमार्ग मासेर कीर्तिपुर  नगरपालिकाले बन्दाबन्दीको समयमा कीर्तिपुररदेखि चम्पादेवीसम्म डोजर लगाएर गत जेठमा सडक निर्माण गरेको थियो । यो बर्खामा आएको बर्षाले अहिले उक्त खण्डमा पहिरै पहिरो गएको छ ।  

 नगरपालिकाले चम्पादेवी सामुदायिक वन क्षेत्रभित्रको करीब पाँच किलोमिटर वन क्षेत्रमा खनेको बाटोमा पहिरो गएर मानिस समेत पैदल हिंड्न नमिल्ने भएको छ । पहिरोसंगै रुख र ढुला ठूला ढुँगाहरु खसेका छन् । पहिरोका कारण थप वन समेत क्षति भएको छ । उक्त क्षेत्रमा थप पहिरो जाने उत्तिकै जोखिम छ । 

नगरपालिकाले केही सीमित व्यक्तिको स्वार्थमा अन्य शीर्षकको रकम रकमान्तर गरेर कोरोनाभाइरसको महामारीका बेला वन कार्यालयको स्वीकृती, वातवारणीय परिक्षण विना चोर बाटोबाट मोटरबाटो निर्माण गरेको थियो। 

मोटरबाटो निर्माणको विषयलाई लिएर उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बाग्मती प्रदेश, डिभिजनल वन कार्यालय काठमाडौं र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, डिभिजन वन कार्यालयलले  सडक खनिएको विषयमा प्रक्रियागत रुपमा नगरपालिकासंग बुझ्ने काम गरेपनि कार्वाही प्रक्रिया अघि बढाएनन् । जसले गर्दा नगरपालिकाले आगामी वर्षका लागि उक्त सडकका नाममा झण्डै रु १ करोड ५० लाख बजेट छुट्टाएका छ । 

डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत बद्रि कार्की नगरपालिकाले स्वीकृती विना जंगल मासेर सडक खनिएको विषयमा नगरपालिकालाई लिखित रुपमा गैर कानुनी काम हो भनेर जानकारी गराइएको र सामुदायिक वनको व्याकं खाता रोक्का गरिएको बताउँछन् । 

मोटरबाटो निर्माण गरिएको क्षेत्र पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण स्थान हो। काठमाडौंको प्रमुख जलाधार र पदयात्रीका लागि उपयुक्त स्थानलाई मासेर नगरपालिकाले सीमित व्यक्तिको स्वार्थमा काम गरेको कीर्तिपुर नगरपालिकाको पर्यटन विकास रणनीतिक गुरुयोजनामा काम गरेका डा तारालाल श्रेष्ठ बताउँछन्। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक समेत रहेका श्रेष्ठ भन्छन्, “अहिले बाटो खनिएको ठाउँ सिमसार क्षेत्र र निकै संवेदनशील क्षेत्र हो। सुन्दर डाँडोलाई मासेर कुरूप बनाउने काम भयो। जनप्रतिनिधिले केही व्यक्तिको स्वार्थमा काम गरे।”

नगरपालिकाले पर्यावरणीय हिसावले महत्वपूर्ण मानिएको ठाउँमा जंगल मासेर सडक खन्दा समेत वातावरणको क्षेत्रमा काम गर्ने अभियान्ताहरुले ध्यान नदिएको किर्तिपुर नगरपालिकामै कार्यरत एक कर्मचारी बताउँछन् । “यो विषयमा  मिडिया, वातावरणको क्षेत्रमा काम गर्ने अभियान्ताहरुको ध्यान जानुपर्ने हो । अहिले सम्म कोही बोलेको छैन । जानकारी नभएर हो वा के कारणले हो बुझ्न सकिएन । जंगल मासेर सडक बनाउने कुरा सामान्य विषय होइन । नगरपालिकाले गैरकानुनी काम गरिरहेको छ । ”



Developed by Smart Innovation